|  

उदयपुरमा मतपेटिका लुट्ने प्रयासपछि चल्यो गोली,१ को मृत्यु, २ घाइते

३० वैशाख, काठमाडौं । उदयपुरस्थित कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन्।

मृत्यु हुनेमा स्थानीय १८ वर्षिय विरबहादुर कटुवाल रहेका छन्।उनको छातिमा गोली लागेको छ। प्रहरीले चलाएको गोली लागेर अर्का स्थानीय १३ वर्षीय मोहन श्रेष्ठ घाईते भएका छन्।उनको खुट्टामा गोली लागेको छ।बाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ।प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गोली चलेको बताएपनि घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भईनसकेको बताए।उनले कांग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको बताए।

प्रजिअ यादवले मदतान प्रकृया ५ः२० मा सकिसकेपछि दलका कार्यकर्ताबीच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए।मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामासमेत हस्ताक्षर गर्दैगर्दा अकास्मात वाहिरबाट ढुगांमुढा हान्न थालेपछि प्रहरीले जवाफी फाईरिङ्ग गरेको बताइएको छ।

शिलबन्दी गर्नेक्रममा ५० / ६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछिस्थिति तनावग्रस्त भएको बताइएको छ।स्थितीलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको हो।प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ।