|  

एफ ए कप:चेल्सी र लिभरपुलको उपाधि भिडन्त

३१ बैशाख, काठमाडौं । इंग्लिस फुटबल प्रतियोगिताको उपाधिका लागि आज लिभरपुल र चेल्सी भिड्दैछन् ।

सात पटकको च्याम्पियन लिभरपुल र आठ पटकको च्याम्पियन चेल्सी दोस्रो पटक एफ ए कपको फाइनलमा भिड्न लागेका हुन । उक्त खेल नेपाली समय अनुसार राती साँढे नौं बजेबाट सुरु हुनेछ । पछिल्लो पटक निकै राम्रो लयमा रहेको लिभरपुलका लागि यो सिजनको दोस्रो उपाधि जित्ने सुनौलो अवसर रहेको छ । यसअघि काराबाओ कपको उपाधि जितेको लिभरपुल च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ भने प्रिमियर लिगको उपाधिको पनि होडमा छ ।

यता चेल्सी लगातार तेस्रो पटक एफ ए कपको फाइनलमा पुगेको हो भने पछिल्ला ६ सिजनमा पाँच पटक उसले फाइनल खेलेको छ । यता लिभरपुल भने १० बर्षपछि एफ ए कपको फाइनल खेल्दैछ ।

लिग कपको फाइनलमा र एफ ए कपको फाइनलमा एउटै टिम आमनेसामने भएको यो पहिलो पटक हो । यो भिडन्त लिभरपुल र चेल्सीका लागि पछिल्लो तीन सिजनमा १० औं पटक हुनेछ । जसमा उनीहरु ६ पटक प्रिमियर लिगमा भिड्दा तीन खेल लिभरपुल, एक खेल चेल्सी र दुई खेल बराबरी भएका छन ।