|  

बिदाका दिन चलेका सरकारी गाडी प्रहरीको नियन्त्रणमा

८ जेठ, काठमाडौं । सार्वजनिक बिदाका दिनमा पनि चलाइएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्न गृह मन्त्रालयको निर्देशन छ । उक्त निर्देशन कार्यान्वयन गर्ने क्रममा ती गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ ।

आज पनि सार्वजनिक बिदा भएकाले अनुमतिबिना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए ।