|  

बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

१४ जेठ, काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान उपाधि नजिक पुगेको हो ।

अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ ।  

बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

देबदुत पडीकल ९ रनमा आउट हुँदा शिम्रन हिटमायर २ अविजित रहे ।बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो ।बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे  । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए ।