|  

उपाधिका लागि लिभरपुल र रियल भिड्दै

१४ जेठ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ । फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित हुनेछ ।
किनकि युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् ।

स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा छ । ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न चाहन्छ ।

लिभरपुलका जर्मन प्रशिक्षक क्लोप फाइनलका लागि टिम राम्रो अवस्थामा रहेको बताउछन् ।'हामी सबै राम्रो मुडमा छौं । यदि तपाई स्वस्थ हुनुहुन्छ भने केटाहरू पक्कै छन् । जीवनले बारम्बार अवसरहरू दिन्छ । यो च्याम्पियन्स लिगको फाइनल हो,' क्लोप भन्छन् ।

लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो ।  लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ ।तर, क्लोप च्याम्पियन्स लिगको उपाधि जित्न कठिन रहने गरेको दाबी गर्छन् ।

'पाँच वर्षमा तीन फाइनलहरू असाधारण छन् किनभने यो प्रतियोगिता साँच्चै गाह्रो छ । तर, यो वास्तवमै विशेष छ,' क्लोप थप्छन् ।   

ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ ।पेरिसमा रियल आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । जसका लागि टोली तयार भएको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी बताउँछन् ।