|  

उपत्यका यात्रुका दु:ख : सार्वजनिक गाडीमा यात्रा गर्नै सास्ती (फोटो फिचर)

१४ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको यात्रा दिनप्रतिदिन कष्टकर बन्दैछ । यहाँका सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्यधिक भिड लाग्ने गर्छ ।

सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न बाध्य छन्।

उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन् भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन । सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रुहरुको गाडीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि बेलाबेलामा सार्वजनिक भइरहेका हुन्छन् ।

नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ । तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक गाडी चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन् ।

सार्वजनिक यातयातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भिड बढेको हो । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि गाडी चाप हुनुको एउटा कारण हो । भौतिक सामग्री हराउने मात्र होइन सार्वजनिक यातायातमा ज्यानकै जोखिम रहेको छ।