|  

सरकारको नीति तथा कार्यक्रम इतिहासकै सबैभन्दा कमजोरः विष्णु पौडेल

१४ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने सरकारको नीति तथा कार्यक्रम नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन ।

यहि जेठ १० मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आज सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । उनले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको बताए ।

संकटोन्मुख अर्थतन्त्र यतिबेलाको सबैभन्दा ठूलो समस्या तथा चुनौती भएको भएता पनि नीति तथा कार्यक्रम संकट समाधानप्रति बेखर रहेको टिप्पणी गरे । उनले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग नभएको बताए ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको उनले  टिप्पणी गरे । नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको, समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि पौडेलले बताए ।