|  

यसरी जोगाउन सकिन्छ स्मार्टफोन !

१४ जेठ, काठमाडौं । तपाईंले प्रयोग गर्ने फोन कतिको सुरक्षित छ वा छैन भन्ने कुरा तपाईंले नै फोन प्रयोग गर्ने तरिकामा निर्भर हुन्छ । विशेषगरी विभिन्न फिशिङ तथा ह्याकिङजस्ता साइबर आक्रमणबाट आफ्नो फोनलाई कसरी सुरक्षित राख्ने भन्ने मुख्य हात प्रयोगकर्ताको नै हुन्छ ।

एन्ड्रोइड फोनलाई साइबर आक्रमणबाट जोगाउनको लागि फोनमा नै भएका केही फिचर प्रयोग गर्न सकिन्छ । अथवा प्ले स्टोरमा उपलब्ध गुगलकै एपहरू प्रयोग गरेर पनि आफ्नो फोनलाई सुरक्षित राख्न सकिन्छ ।

१। गुगल प्ले प्रोटेक्ट

गुगल प्ले प्रोटेक्ट फिचरले एन्ड्रोइड एपहरू तथा डिभाइसलाई सुरक्षित राख्न मद्दत गर्छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट कुनै पनि एप डाउनलोड गर्दा सो एप सुरक्षित हो वा होइन भनेर थाहा पाउन सक्छन् ।

यो फिचर अन गरेपछि एप डाउनलोड गर्नु भन्दा अगाडि एप कतिको सुरक्षित छ भनेर प्रयोगकर्तालाई नोटिफिकेशन आउछ । यो फिचर प्रयोग गर्नको लागि सेटिङमा गएर ‘बायोमेट्रिक एन्ड सेक्युरिटी’ अप्सनमा क्लिक गरेर गुगल प्ले प्रोटेक्ट अप्सनलाई अन गर्नुहोस ।

२। फाइन्ड माई डिभाइस

यो फिचरले प्रयोगकर्ताहरूलाई हराएको एन्ड्रोइड डिभाइसहरू फेला पार्न र आवश्यक भएमा उक्त डिभाइसहरूमा भएको डेटा टाढैबाट पनि हटाउन मद्दत गर्दछ । यो फिचरले एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेट दुवैमा काम गर्छ। यो फिचर सेटअप गर्नको लागि सेटिङमा गएर ‘बायोमेट्रिक एन्ड सेक्युरिटी’ अप्सनमा क्लिक गरी ‘फाइन्ड माई डिभाइस’ मा क्लिक गर्नुहोस ।

३। लक स्क्रिन अप्सन

लक स्क्रिन निकै नै सामान्य फिचर हो । सामान्यतया नयाँ फोन लिने बित्तिकै सबैभन्दा सुरुमा गर्ने काम नै लक स्क्रिन हो । स्मार्टफोन लक स्क्रिनले जथाभावी कसैले तपाईंको फोनमा पहुँच बनाउनबाट जोगाउछ ।
यसले सामान्यतया फेस आईडी, फिंगरप्रिन्ट, पिन र पासवर्ड लक अप्सनहरू हुन्छन् । सामान्य लागे पनि यो फिचर डिभाइसको सुरक्षाको लागि निकै ठूलो भुमिका खेल्छ ।

४। पर्मिसन म्यानेजर

एपहरूले सही तरिकाले काम गर्नको लागि अथवा कुनै पनि एप हामीले प्रयोग गर्नुभन्दा अगाडि निश्चित अनुमतिहरूहरूको आवश्यकता हुन्छ । यसको लागि कन्ट्याक्ट, फोटो, माइक, स्थान जस्ता संवेदनशील जानकारीहरूको पहुँच दिन आवश्यक छ ।

एन्ड्रोइड डिभाइसहरूमा बिल्ट(ईन पर्मिसन म्यानेजर फिचर उपलब्ध हुन्छ । एप प्रयोग गर्नुभन्दा अगाडि आउने पर्मिसन म्यानेजरमा हामीले विभिन्न क्याटगरी अनुसार कुन कुरामा पहुँच नदिने कुन कुरामा पहुँच दिने भनेर छनौट गर्न सकिन्छ ।

५। गुगल सेक्युरिटी चेकअप

यो एन्ड्रोइड प्रयोगकर्ताकै लागि भनेर बनाइएको फिचर भने होइन । यद्यपि यसले गुगल अकाउन्टहरू सुरक्षित राख्न मद्दत गर्छ जसले एन्ड्रोइड डिभाइसहरू पनि सुरक्षित राख्न मद्दत गर्छ । यसको लागि डिभाइसको सेटिङमा गएर गुगल अप्सनमा क्लिक गरेर म्यानेज गुगल अकाउन्टमा क्लिक गर्नुहोस् । यसपछि सेक्युरिटी ट्यापमा क्लिक गरेर सेक्युरिटी इस्युज डिटेक्टेड अप्सनमा क्लिक गर्नुहोस् र ‘सेक्योर अकाउन्ट’ बटनमा क्लिक गर्नुहोस् ।

६। क्रोम सुरक्षित छ वा छैन भनेर जाँच गर्नुहोस

सामान्यतया गुगल क्रोममा डिफल्ट रुपमा सुरक्षाका विभिन्न फिचरहरू उपलब्ध हुन्छ । उक्त फिचरहरू प्रयोग गरेर आफ्नो एन्ड्रोइड डिभाइस सुरक्षित छ वा छैन तथा एन्ड्रोइड डिभाइसमा प्रयोग भएका गुगल अकाउन्टहरू सुरक्षित छ वा छैन भनेर हेर्न सकिन्छ ।

७। इमर्जेन्सी इन्फर्मेसन

एन्ड्रोइड अपरेटिङ सिस्टममा आपतकालीन अवस्थाको लागि आवश्यक सूचनाहरू बिल्ट(ईन रुपमा उपलब्ध हुन्छ । जसले प्रयोगकर्ताहरूलाई आपतकालीन सम्पर्कका साथै उनीहरूको मेडिकल जानकारी थप्न अनुमति दिन्छ ।

यो अप्सनले आपतकालीन अवस्थामा प्रयोगकर्ताको जीवन पनि बचाउन सक्छ । फोन लक हुँदा पनि यो जानकारी स्क्रिनमा देख्न सकिन्छ। यसको लागि सेटिङमा गएर पासवर्ड एन्ड सेक्युरिटी फिचरमा गएर इमर्जेन्सी इन्फर्मेसन अप्सनमा क्लिक गर्न सकिन्छ ।

८। एप पिनिङ

एन्ड्रोइडको सबैभन्दा बेवास्ता गरिएको र लुकेको सुरक्षाको विभिन्न फिचर मध्ये एक हो ‘एप पिनिङ’ वा ‘पिन विन्डो’ । यो सुविधा सन् २०१४ मा एन्ड्रोइड लोलिपप अपडेटको साथ प्रस्तुत गरिएको थियो ।

एप पिनिङ फिचरले प्रयोगकर्ताहरूलाई फोनमा एप लक गर्न मद्दत गर्छ । यसले गर्दा प्रयोगकर्ता बाहेक अरुले फोनको उक्त एप प्रयोग गर्न सक्दैनन् । साथै प्रयोगकर्ताले पनि उक्त एप प्रयोग गर्न अनलक गर्नुपर्ने हुन्छ ।

९। स्मार्ट लक

स्मार्ट लक एन्ड्रोइडको अर्को एउटा महत्त्वपूर्ण फिचर हो, जसले एन्ड्रोइड डिभाइस सुरक्षित राख्न मद्दत गर्छ । यो फिचर बडी डिटेक्सन, विश्वसनीय स्थान र विश्वसनीय उपकरणहरूमा आधारित हुन्छ ।

यसको अर्थ हो यो फिचरले प्रयोगकर्ताको डिभाइस अनावश्यक रुपमा अनलक हुन दिँदैन । डिभाइस खल्तीमा हुँदा वा अन्य विश्वसनीय स्थानहरूमा हुँदा फोन लक छ वा छैन भन्ने कुरालाई डिटेक्ट गरेर डिभाइस लक(अनलक गर्ने गर्छ ।

१०। बेटर एप पर्मिसन

गुगलले प्रयोगकर्ताहरूलाई उनीहरूको एपमा थप नियन्त्रण दिनको लागि बेटर एप पर्मिसन फिचर उपलब्ध गराइएको हुन्छ ।

यसले प्रयोगकर्ताहरूलाई एप प्रयोगमा रहेको बेलामा मात्र विशेष अनुमति प्रयोग गर्न एपहरूलाई बताउन अनुमति दिन्छ। उदाहरणको लागि कुनै एपले लोकेसन ट्रयाक गर्छ भने उक्त अप्सन सो एप प्रयोग गर्दा मात्र प्रयोग गर्न मिल्ने हुन्छ ।