|  

गायिका साकिरामाथि कर छलीको आरोप

१४ जेठ, काठमाडौं । कोलम्बियाकी प्रख्यात गायिका साकिरालाई कर छलीको आरोप लागेको छ ।

स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ साकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले त्यसलाई स्वीकारेन ।गायिका साकिराको कर छलीको मामला पहिलो पटक सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यो समयमा स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानी बापत एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए ।

यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन् ।‘यसको पर्याप्त प्रमाण छ कि साकिराले राज्यमा कर तिर्ने प्रतिबद्धता पालन गरेकी छैनन् । यस्तोमा उनीमाथि मुद्दा चलाउन सकिनेछ । यदि गायिकामाथिको आरोप सही साबित भए र उनी दोषी ठहरिए भने जरिवानासँगै कारावासको सजाय भोग्न तयार हुनुपर्नेछ,’ अदालतले भनेको छ ।साकिरामाथि कर छलीको मामला सन् २०१९ को जूनमा अदालतमा दर्ता भएको थियो । गायिकाले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । उनले आफूलाई कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी गरेकी थिइन् ।