|  

अमेरिका जाने नेपाली क्रिकेट टोलीलाई विदाइ

१४ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान गरेको छ । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतको टोलीले बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृखंला निकै महत्वपूर्ण रहेको उनले बताए । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आफू आशावादी रहेको बताए ।

पहिलो पटक  शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ । लिग-२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग-२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा यूएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

१२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा रहेको छ । ७ मध्ये शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन् ।