|  

घर बनाएर सकेको वर्ष दिन वित्दा समेत भूकम्प पीडितले पाएनन अनुदान

१४ जेठ, काठमाडौं । घर निर्माण सकेको वर्ष दिन पुग्दा पनि रामेछापका भूकम्प पीडितले अनुदान रकम पाएका छैनन् ।

तर वैदेशिक स्रोत फुकुवा नहुँदा जिल्लामा निकासा भएको २० करोड रुपैयाँ भने सरकारी ढुकुटीमै थन्किएको छ । अनुदान वितरणको काम गर्ने जिम्मेवारी पाएको सघन शहरी तथा भवन निर्माण विभाग रामेछापका आयोजना प्रमुख सुरेशकुमार वाग्लेले वैदेशिक स्रोत फुकुवा नहुदा किस्ता वितरणमा ढिलाइ भएको बताए । २०७२ सालको विनाशकारी भूकम्पमा परेर भत्किएका घरको पुनर्निर्माणका लागि रामेछाप जिल्लामा विश्व बैंकले सहयोग गर्दै आएको छ ।

प्राविधिकबाट निरीक्षण सकेका घरहरूको अनुदान नपाउँदा पीडितहरूले डकर्मी र निर्माण सामग्री खरिदको रकम भुक्तानी गर्न कठिनाइ झेल्दै आएका छन् । अहिले दिनहुँ वडा कार्यालयमा किस्ता नपाएकै गुनासो लिएर आउनेहरूको संख्या बढ्न थालेको छ । 

उनले विगतमा निकाशा फुकुवा भएको करिब २१ करोड रुपैयाँ अनुदान वितरण गरिसकेको पनि जानकारी दिए । उनका अनुसार रामेछापमा अझै करिब ३० करोड रुपैयाँ आवश्यक छ । त्यसमध्ये २० करोड रुपैयाँ केहि दिनअघि मात्र निकाशा भएको तर उक्त रकमको वैदेशिक स्रोत फुकुवा नहुँदा भुक्तानी गर्न मिलेको छैन । स्रोत फुकुवा हुनासाथ २० करोड रुपैयाँ वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

रामेछापमा करिब ५९ हजार भूकम्पपीडित निजी आवास बनाउनका लागि तीन पटक गरी ३ लाख अनुदान पाउनेको सूचीमा समावेश छन् । साविकको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान नपाउने सूचीमा राखेका कतिपयले पुनरावेदन गरेकाले उक्त सूची अझै बढ्ने जनाइएको छ । रामेछापबाट पुनरावेदन गर्नेको संख्या करिब ४ हजार ३ सय रहेको छ ।