|  

शिक्षालाई प्राथमिकतामा राख्न विराटनगर महानगरलाई सरोकारवालाको आग्रह

१४ जेठ, काठमाडौं । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख,उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाले शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

विराटनगर-११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभागिहरुले यस्तो आग्रह गरेका हुन् । जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख टंक गौतमले स्थानीय तहका अधिकारको उच्चतम प्रयोग गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न सके अपेक्षाकृत रुपमा सामुदायिक विद्यालयको समेत स्तरोन्नती गर्न सकिने बताए ।

उनले सामुदायिक विद्यालयका विद्यार्थीको आयस्तर, जनताको चेतना स्तर हेरेर सामुदायिक विद्यालयको स्तरोन्नती गर्न लगानी गर्न आवश्यक रहेको बताए । उनले विराटनगर महानगरका केहि सामुदायिक विद्यालयहरुले आफूलाई विकास गर्दै लगिरहेपनि दक्षिणवर्ती वडाका विद्यालयहरुको विकासमा सहकार्य गर्दै उनन्नयनमा लाग्नुपर्नेमा जोड दिए । उनले जनपथ माविपनि विराटनगर महानगरका ६, ११ र १२ नम्बर वडाभित्रको एउटा मात्र मावि रहेको भन्दै त्यस विद्यालयको स्तरोन्नतीमा ध्यान दिन आवश्यक रहेको बताए ।

विराटनगर महानगरका मेयर, उपमेयर तथा वडा ११ का जनप्रतिनिधी सहभागी कार्यक्रममा विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले नव निर्वाचित मेयर र उपमेयर दुवैले शिक्षा क्षेत्रलाई राम्ररी बुझेको भन्दै सबैको राय सुझाव लिएर अघि बढ्ने बताए ।