|  

पार्टीको हितविरुद्ध काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम भए कारबाही हुन्छः पुन

१४ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पार्टीको नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार काभ्रेमा नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै पुनले पार्टीको हितविरुद्ध काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम भए कारबाही गरिने पनि बताए ।यसका साथै  पनुले ०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने बताए ।

उनले भने, ‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ, नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने हुन्छ । किनभने मत घटाउने,पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन ।

गल्ती गरेको छ, गन्हाएको छ, दुनियाँले छिःछिः गरेको छ, हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन ।’यस्तै जनप्रतिनिधिलाई प्रशिक्षित गर्न १८ र १९ गते प्रशिक्षण राखिएको जानकारी दिँदै पुनले यसअघि जितेका ५० प्रतिशत जनप्रतिनिधिले किन निर्वाचन हारे भन्ने कारण खोजिने बताए ।