|  

प्रतिनिधिसभा नीति तथा कार्यक्रममाथि सांसदको पक्ष–विपक्षमा मत

१४ जेठ, काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा पनि सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गठबन्धन दलका सांसदहरूले पक्षमा धारणा राख्नुभयो भने प्रतिपक्ष दलका सांसदहरूले विपक्षमा भनाइ राख्नुभएको थियो । छलफलमा ५० भन्दा बढी सांसदले भाग लिनुभएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसद गोकर्ण विष्टले नीति कार्यक्रमले नेपाली युवालाई सही ढङ्गले दिशा दिन नसकेको आरोप लगाउनुभयो । उहाँले सात दशकभन्दा लामो समयदेखि वैदेशिक सहायता लिइँदै आइएको स्मरण गर्दै त्यसले आफ्नो स्वाधिनतालाई बन्धक बनाइरहेको बताउनुभयो । वैदेशिक सहायतालाई पुनरावलोकन गर्दै प्रविधि र ज्ञान भित्र्याउने गरी नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद विष्टले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षामा गम्भीरताका साथ ध्यान नदिएको बताउनुभयो । परम्परा कायम गरेको तर राष्ट्रव्यापीरूपमा आर्थिक र खाद्य सङ्कट परिरहेको छ, मूल्यवृद्धि र बेरोजगारीको अवस्था रहे पनि यसलाई सामाना गर्ने गरी नीति तथा कार्यक्रम आउन नसकेको उहाँले बताउनुभयो ।

सोही पार्टीका पद्माकुमारी अर्यालले सरकारले अद्यावधिक गरिएको नक्सालाई व्यवहारमा नै कार्यान्वयन गर्ने सन्दर्भमा सरकार चुकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता नदिएको पनि बताउनुभयो ।

एमालेकै अर्का सांसद कृष्णभक्त पोखरेलले ११ महिनामा ११औँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको कुरामा कार्यक्रम बोल्न नसकेको र किसानको मलको सुनिश्चितताका विषमया कुनै दृष्टिकोण नभएको दाबी गर्नुभयो ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौला पन्तले यौन अपराधका घटना बढिरहेकाले हदम्यादलाई बढाउन माग गर्नुभयो । महिलाको स्वास्थ्यमा गम्भीर हुन पनि उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेसका प्रकाश रसाइलीले उत्पादन क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।