|  

फोहोरको जालो टोड्न बालेनलाई सकस, काठमाडौंवासी नाक थुन्न बाध्य 

निशा कार्की ।

२० जेठ, काठमाडौं । काठमाडौं भन्ने बित्तिकै फोहोर र ट्राफिक जाम, यो दुई वटा विषय स्मरणमा आउँछ । काठमाडौं देशको राजधानी भएपनि न यहाँ ट्राफिक जाम हल हुन सकेको छ न या फोहोरको राम्रोसँग ब्यवस्थापन हुन सकेको छ ।

विगत देखी हालसम्म मूल्याङकन गर्ने हो भने काठमाडौंलाई नेतृत्व गर्ने धेरै ब्यक्ति आए । तर कसैले पनि यसको सरल र सहज तरिकाले ब्यवस्थापन गर्न सकेनन् । यहि विषयलाई उठान गरेर हालै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट काठमाडौंको मेयरमा विजयी बनेका बालेन शाहले काठमाडौंवासीको सपोर्ट पाए । उनी अध्याधिक मतका साथ मेयर पदमा विजयी भए ।

उनी विजयी भएपछि काठमाडौंलाई हेर्न लायक बनाउने कुरामा काठमाडौंबासी मात्र नभएर देशभरका नागरिक विश्वस्त छन् । विजयी भएको भोलिपल्ट नै उनी काठमाडौंको फोहोर लगिने ठाउँ सिसडोल र बञ्चरेडाँडा दुवै ठाउँको अवलोकन गर्न पुगे । त्यो ठाउँ बस्न अयोग्य र फोहोरको डंगुरको रुपमा परिणत भएको उनले देखे ।

त्यहाँ पुगेपछि उनले एउटा अठोट पनि गरे । जुन अठोट यस्तो छ, ‘जबसम्म फोहोर ब्यवस्थापनको मार्ग तय गर्दिन तबसम्म खादा र टिका नलगाउनुको साथै कुनै उत्सव पनि मनाउदि ।’ उनी फोहोर ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको फोहोर ब्यवस्थापन बालेनका लागि सवैभन्दा ठुलो चुनौतीको विषय बनेको छ । उनले सपथ तथा पदभार ग्रहण गरेकै दिन नगर कार्यपालिकाको पहिलो बैठक पनि डाके । उक्त बैठकमा विशेष गरी तिन वटा एजेण्डामा उनले वडा अध्यक्षहरुसँग छलफल गरे । छलफलको पहिलो एजेण्डा थियो, फोहोरो मैला ब्यवस्थापन ।

त्यस्तै बालेनले सार्वजनिक शौचालय प्रयोगका लागि महानगरभित्र रहेका रेष्टुरा, होटल प्रयोग गर्ने र महानगरको गुनासो सुन्न कल सेन्टर राख्ने विषयबारे पनि बैठकमा जानकारी गराएका थिए । उक्त बैठकमा भएको छलफल उनले प्रत्यक्ष प्रशारण समेत गरे । किनभने आफु मेयरमा निर्वाचित भएको खण्डमा नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्ने भनेर निर्वाचन प्रचारप्रसारका क्रममा उनले प्रतिवद्धता जाहेर गरेका थिए ।

बैठकमा वडा अध्यक्षहरुले फोहोर ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे आ–आफ्नो धारणा पालैपालो राखेका थिए । एक वडा अध्यक्षले काठमाडौंको फोहोर ब्यवस्थापन नभएकाले बैठकको भत्ता समेत नलिने प्रतिबद्धता पनि जनाए ।

फोहोर ब्यवस्थापनमा बालेन यसरी अघि बढ्दा राम्रो ?

फोहोरमैला ब्यवस्थापन संघ नेपालले विगत २५ वर्षदेखि काठमाडौंको फोहोर मैला ब्यवस्थापनमा सहयोग गर्दै आएको छ । महानगरलाई सफा र स्वच्छ बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने फोहोर ब्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आर्चाय बताउँछन् । उनी भन्छन्, ‘आफुहरुले केवल घरको फोहोर मात्र उठाउने हैन, सार्वजनिक स्थल सधै सफा रहिरहनुपर्छ, नदीनालामा फोहोर फ्याक्नुहुन्न भन्ने जनचेतनाबाट यो अभियान सुरु गरेका हौँ ।’ काठमाडौं महानगरपालिकाले कसरी फोहोर ब्यवस्थापन गर्छ भनेर देशैभरका महानगरले हेर्ने भएकाले एउटा उदाहरणीय काम गर्न आवश्यक रहेको उनको सुझाव छ ।

फोहोर ब्यवस्थापनमा विशेषगरी ३ वटा कुराको चुनौती रहेको उनको भनाइ छ । उनका अनुसार फोहोर ब्यवस्थापन सम्बन्धी नितिगत कुराहरुमा अस्पष्टता छ । जस्तैः फोहोर मैला ब्यवस्थापन ऐन २०६८ मा ल्याएको छ । त्यो संक्रमणकालमा आएको एउटा मात्र ऐन हो । त्यसलाई उचित कार्यान्वयन गर्नका लागि फोहोर मैला ब्यवस्थापन प्राविधिक सहयोग केन्द्र तत्कालिन स्थानीय विकास मन्त्रालय अन्र्तगतको निकाय थियो । त्यो निकाय हाल खारेज भएको छ । त्यो ऐनलाई सञ्चालन गर्ने निकाय नै नभएकाले त्यसलाई समय सापेक्ष संशोधन गर्ने लगायतका कामहरु बाँकी छन् । संघीय कानुनको रुपमा त्यो ऐन रहेको छ ।

फोहोर ब्यवस्थापन संघका अध्यक्ष आर्चायका अनुसार, स्थानीय सरकारले फोहोर मैला ब्यवस्थापनसँग सम्बन्धित आ-आफ्नो ऐन निर्माण गर्नुपर्ने भएपनि निर्माण गरिएको पाइदैन । आधुनिक ढङगबाट फोहोर ब्यवस्थापनका लागि फोहोरलाई सकेसम्म स्रोतमै न्युनीकरण गर्ने, त्यसलाई बढीभन्दा बढी पुनः प्रयोग गर्ने र रि–साइकल बस्तुहरुलाई पुनः उत्पादनमा लगेर ब्यवस्थित गर्न सकिन्छ । तर यसको लागि पुर्वाधारहरुको आवश्यकता पर्छ । पुर्वाधारहरुको तयार गर्न आफुहरुसँग पर्याप्त जग्गाहरु छैन । प्रशोधन केन्द्रका लागि जग्गा पाउन धेरै नै मुस्किल छ ।

फोहोरमैला ब्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि प्रष्ट नभएको उनको तर्क छ । उनी भन्छन्, ‘सिंगो काठमाडौं उपत्यकाको मेयर फोरम बनेको छ,त्यो फोरमको संयोजक काठमाडौं महानगरको मेयर भएकाले मुख्य जिम्मेबारी काठमाडौंको मेयरको हुन्छ । फोहोर उत्पादन हुने परिणामका आधारमा पनि काठमाडौं महानगर अगाडी भएकाले मेयर बालेनले निर्णायक भुमिका निभाउनुपर्ने आवश्यक देखिन्छ ।’

काठमाडौं महानगरपालिका भित्र ३२ वटा वडा रहेका छन् । तर यहाँ ३३ वटा संस्थाले फोहोर ब्यवस्थापनको काम गरिरहेका छन् । त्यसमा पनि १० वटा काठमाडौं महानगरको कोर एरियामा नगरपालिका आफैले फोहोर ब्यवस्थापन गरिरहेको । फोहोरमैलाका लागि ५ सय भन्दा बढी कर्मचारी पनि परिचालन गरिएको छ । यति हुँदा हुदैपनि काठमाडौंको फोहोर उठ्न सकेको छैन् । त्यसैले जबसम्म फोहोर ब्यवस्थापनको निकास हुँदैन तबसम्म काठमाडौंका बासी नाक थुनेरै हिड्न बाध्य रहने कुरामा कुनै दुई मत छैन् ।