|  

१ जना मात्र विद्यार्थी भएको विद्यालयमा धमाधम नयाँ विद्यार्थी भर्ना, विद्यार्थी संख्या १५ पुग्यो

५ असार, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित दुर्गा आधारभूत विद्यालयमा धमाधम विद्यार्थी भर्ना गर्न थालिएको छ ।

कक्षा तीनसम्म रहेको विद्यालयमा जेठसम्म अढाई वर्षीय सिमरन सोमै मात्रै बालकक्षामा अध्ययनरत थिए ।अहिले वडाअध्यक्ष जमशेर मियाँको सक्रियतामा विद्यार्थी भर्ना गर्न सुरु गरिएको छ । २ असारमा बालकक्षामा ९ जना र कक्षा १ मा तीन जना विद्यार्थी भर्ना गरिएकोमा कक्षा एकमा थप दुई जना भर्ना भएर १५ जना पुगेका छन् ।

कक्षा तीनसम्म रहेको विद्यालय हाललाई एक कक्षामा सिमित गरेर विद्यालय सञ्चालन गर्ने बताइएको छ । वडाअध्यक्ष मियाँले भने ‘शिक्षा समितिको बैठक बस्न नसकेर मर्जको लागि प्रकृयामा गएको रहेनछ । त्यसैले अब २० / २५ जना विद्यार्थी भर्ना गर्न सकियो भने विद्यालय मर्ज हुँदैन भन्ने थाहा पाएर भएको विद्यालयलाई किन बन्द गर्ने भनेर विद्यालय भर्ना सुरु गरेका हौं ।’