|  

एसइई परीक्षाको नतिजा असार ३२ गते सार्वजनिक गरिने

७ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको हो । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिए ।

उनले प्राविधिक रूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए । राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगिसकेको छ ।

उनका अनुसार हाल कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको छ । कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ । 

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । २ हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।