|  

भारत आसीयान सम्वन्धको भू-राजनीतिक महत्व

भर्खरै २०२२, जुन १६ र १७ मा भारत र आसीयान मुलुकहरूको परराष्ट्र मन्त्री स्तरको सम्मेलन सम्पन भएको छ । उक्त सम्मेलनले वर्तमान वैश्विक राजनीतिक तनाव र गतिरोधको वारेमा व्यापक वहस र छलफल भएको देखिन्छ ।

भारत आसीयान सम्वन्धको वदलिदो भू-राजनीतिक परिवेशमा गहिरो महत्व पनि छ ९० को दशकमा सोभीयत विघटनको नकारात्मक प्रभाव भारतको अर्थ राजनीतिमा परेको थियो । जनता सरकारको अस्तव्यस्त नीतिले गर्दा भारतीय राज्यकोषको अवस्था डरलाग्दो थियो । आपत्तकालीन अवस्थालाई चूनौती र अवसरको रुपमा स्वीकार गर्नु राजनीतिक कौशलता पनि हो । यही पृष्टभूमीमा तत्कालीन भारतका प्रधानमन्त्री नरसिंह रावले आसीयान मुलुकहरूसंग सामीप्यता र सुमधुरता अपनाउन “लुक इस्ट पोलिसी”लाई लागु गरेका थिए ।

सन् १९९२ मा लुक्ट इष्ट पोलिसी लागु गरे पश्चात सन् १९९५ मा भारत आसीयान मुलुकहरूको विच डाइलंग पार्टनरको रुपमा स्थापित भए । सन् २००२ मा भारत “समीट स्तर” को सम्वन्ध बनाउन सफल भयो भने सन् २०१२ मा भारत र आसीयान मुलुकहरू विच सामरिक साझेदारीको सम्वन्ध स्थापित भयो । सन् २०१७ मा मोदीले “लुक इष्ट पोलीसी” लाई “एक्ट इष्ट” पोलीसीमा परिमार्जीत गरे  ।

“लुक इष्ट पोलीसी” र “लुक एक्ट” पोलिसीको तात्वीक अन्तरको बारेमा भारतका पूर्व राजदुत अशोक सज्जनहारको भनाई चहकिलो र गहकिलो देखिन्छ । सज्जनाहर अनुसार “लुक स्ष्ट पोलीसी” आर्थिक हितलाई मध्यनजर गर्दै आसीयान मुलुकवाट पूँजी, निवेष र प्रविधी भित्र्याउन भारतको नीति थियो भने “एक्ट इष्ट” पोलीसी आर्थिक उद्देश्यका साथै सुरक्षा र आपसी सामरिक हितको लागी केन्द्रित रहेको छ ।

सन् २०१७ को भारत र आसीयान सम्मेलन फिलिपिन्सको राजधानीमा सम्पन भएको थियो । उक्त शिखर सम्मेलनको पृष्टभूमिमा शक्तिकेन्द्रहरू हिन्दमहासागरीय (इण्डोप्यासीफीक) नीतिलाई अगाडी बढाउन सहमति गरेको थियो । साथ-साथै क्वार्डको स्थापना गर्न समेत जापान, अष्ट्रेलीया, अमेरीका र भारत सहमत भएका थिए । वर्तमान परिवेशमा भारत आसीयान सम्वन्धको वडो व्यापक महत्व छ । भारतले आसीयानका मुलुकहरू सघन सम्वन्ध बनाउन विभिन्न गुरुयोजनाहरू परिचालित गरेको देखिन्छ ।

भारतको उत्तर पूर्वीय राज्यलाई म्यानमार हुँदै थायल्याण्डसंग जोड्न सडक मार्गमा पनि भारतले अभियानको रुपमा अगाडी बढाउँदै छ । भारतको उत्तरी राज्यसंग वैंककको सिधा सडक सम्र्पक भएको खण्ड वङ्गलादेश र भुटान समेत प्रचुर मात्रामा लाभ लिन सक्ने जानकार अशोक वंशलको बुझाई रहेको छ । म्यानमारलाई केन्द्र बनाउँदै आसीयान मुलुकहरूसंग व्यापारिक सम्वन्ध धनीभूत रुपमा अगाडी बनाउन कालादान योजना पनि बढिरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सांग्रीला सम्वादमा भारत र आसीयान सम्वन्धलाई सुदृढ बनाउ “क्लचर (संस्कृती) कर्मस (व्यापार) र कनेकटीभिटी (सञ्जाल)मा जोड दिएका थिए । आसीयानका मुलुकहरू चीनिया नीतिवाट आक्रान्त देखिन्छ । सन् २०१६ देखि नै पारसेल टापु र स्पार्टली टापुमा चीनले आफ्रनाे अधिपत्य कायम गरेको छ । उक्त कदमले अन्तराष्ट्रिय कानुनको मानमर्दन भएको छ । तर चीनिया नीतिमा कुनै परिर्वतन भएको छैन । चीनले दक्षिण चीन सागरमा कृतीम टापुहरूको निर्माण गरिरहेको छ ।

आसियानका मुलुकहरूले प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूको गठवन्धन क्वार्ड (अमेरिका, भारत, अष्ट्रेलीया र जापान) तर्फ सहयोग र सदभावको अपेक्षा गरेका छन् । यही पृष्टभूमीमा पिलिपिन्सले भारतसंग व्रहमोस क्षेप्यास्त्र खरिद गरेको छ भने भियतनामले पनि हात हतियार खरिद गर्न भारतसंग सम्झौता गरेको छ । हिन्दमहासगरीय क्षेत्रमा चीनको बढ्दो दवदवाले गर्दा आसीयानका मुलुकहरू भारतसंग सामुद्रिक मार्गमा सैनिक अभ्यास गर्न समेत सहमत भएका छन् ।

हुनतः विगतका दिनमा भारतले सिंगापुर र इण्डोनेशियासंग हिन्दमहासागरीय क्षेत्रमा सैनिक अभ्यास गरेका थिए । चीनले हिन्दमहासागरीय क्षेत्रमा ग्वादर, हम्वनटोटा, ओमान र जिवुतीमा सैन्य भण्डारण गरेको देखिन्छ । यस अर्थमा भारत र आसियान सामरिक रुपले समन्व्य नगरेको खण्डमा चीनिया प्रभावलाई निस्तेत गर्न गाह्रो नै देखिन्छ । वास्तवमा सन् २०२२ को भारत र आसीयानको परराष्ट्र मन्त्रीय स्तरको सम्मेलनले केहि विशिष्ट निर्णयहरू लिएको देखिन्छ । सामरिक साझेदारी (स्र्टाटेजीक पार्टन सिप)वाट वृहत साझेदारी “कम्पेरेहेनसिव पार्टनर सिप”मा जाने यो सम्मेलनले निधो गरेको देखिन्छ । कूटनीतिक भाषामा वृहत सामरिक साझेदारीको गहन अर्थ देखिन्छ ।

अर्थात् वृहत सामरिक साझेदारीले सुरक्षा संवेदनशिलतालाई मानसपटलमा राखेको उद्घोष हुन्छ । भारत र आसियान मुलुकहरू विच भएको वृहत सामरिक साझेदारी विश्व राजनीति र कूटनीतिको पहिलो प्रयोग समेत हो । आसियानका मुलुकहरू इण्डोप्यासिफक इकनोमिक फोरममा पनि आफ्रनाे सहभागीता जनाइसकेकाे छ । भारत उक्त आर्थिक संगठनको बलियो स्तम्भको रुपमा रहेको छ । जानकारहरूको बुझाई अनुसार हिन्दमहासागरीय क्षेत्रको आर्थिक संगठन चीनिया रेशम मार्गको प्रभावलाई सन्तुलन गर्न केन्द्रित रहेको छ ।

अर्थात् आसियानका मुलुकहरू मध्ये कम्वोडिया र लाओस अझै चीनको प्रभावमा रहेता पनि वाकी मुलुकहरूको सामीप्यता भारतसंग सघन रहेको देखिन्छ । कालान्तरमा आमीयानका मूलुकहरू मलेशीया, इण्डोनेशीया, थाइल्याण्ड, फिलिपिन्स, भियतनाम, सिंगापुर म्यानमार, कम्वोडिया र लाओससंग समेत भारतको आर्थिक, सांस्कृतीत र सामरिक सम्वन्ध सघन हुने जानकारहरूको बुझाई रहेको छ ।