|  

दुई वर्षमै दोब्बरले बढ्यो मोबाइल डेटाको खपत

८ असार, काठमाडौं । पछिल्लो दुई वर्षको अवधिमा मोबाइल डेटाको खपत दुई गुणाले बृद्धि भएको छ ।

मोबाइल पूर्वाधार भेन्डर कम्पनी इरिक्सनका अनुसार विश्वका मोबाइल नेटवर्क सेवा प्रदायक कम्पनीहरूले ठूला मात्रामा नयाँ ट्राफिक धानिरहेका छन । सन २०२१ को चौथौ त्रैमासिक र सन २०२२ को पहिलो त्रैमासिकको बीचमा मात्रै डेटा खपत १० प्रतिशतले बढेको इरिक्सनको अध्ययनले देखाएको छ ।

कम्पनीले जारी गरेको मोबिलिटी प्रतिवेदनमा पछिल्लो दुई वर्षको अवधिमा डेटाको खपत दोब्बरले बढेको उल्लेख छ । मोबाइल प्रयोगकर्ताको संख्या बढ्नुका साथै बढ्दो भिडियो कन्टेन्टको खपत कारण प्रतिव्यक्ति डेटा खपत बढ्दै गएको छ । यो तथ्याङ्कले सेवा प्रदायकलाई फ्रिक्वेन्सी थप्न बाध्य बनाएको छ । साथै फाइभजीमा रूपान्तरण हुनसमेत सेवा प्रदायकलाई बाध्यात्मक अवस्था सिर्जना गरिरहेको उल्लेख गरिएको छ ।

इरिक्सनका अनुसार सन २०२२ मा प्रति स्मार्टफोन प्रयोगकर्ता प्रति महिना डेटा खपत १५ जीबी पुग्नेछ । उत्तर अमेरिकामा सन् २०२७ भित्र प्रति स्मार्टफोन प्रयोगकर्ता प्रति महिना डेटा खपत ५२ जीबी पुग्ने अनुमान गरिएको छ ।