९ असार, काठमाडौं । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि बिहीबारदेखि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो।
कार्यालयका प्रमुख वसन्त अधिकारीले बिहीबारदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए। देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ।
उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो।
कार्यालयले काठमाडौंका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ। उहाँले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गर्नुभयो। खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ।
कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ।
खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिबिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन्। असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ।