|  

स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन थालेपछि सेवाग्राही मर्कामा

९ जेठ, काठमाडौं । ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न सुरु गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता नदिने जनाएका छन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीएण्डसी मेडिकल कलेज झापा र नोबेल मेडिकल कलेज विराटनगर, धुलिखेल अस्पतालले बोर्डले नै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएको बताएका छन । वीर र पाटन अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि भुक्तानी पाएका छैनन ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार गरेबापत ४५ करोड रुपैयाँभन्दा बढी रकम दिन बाँकी रहेको बीएण्डसीले जनाएको छ । बीमाबापतको रकम भुक्तानी नगरे बीएण्डसीले असार २० गतेदेखि सेवा बन्द गर्ने भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा.दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न लागेको जानकारी दिए ।

शिक्षण अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । त्यसैगरी नोबेल मेडिकल कलेजका व्यवस्थापक सदस्य भीमबहादुर चन्दले पनि मङ्सिरदेखि बीमितको उपचारमा गरेको रकम पाउन नसकेको बताएका छन् । उनले बोर्डबाट रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब खुवाउन समस्या परेको पनि बताए । बोर्डले नोबेललाई ५४ करोड ३८ लाख रुपैयाँ बीमितको उपचार गरेबापत दिन बाँकी रहेको उनको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने ऐन, नियम र कार्यविधिअनुसार अस्पताललाई बीमाबापतको रकम उपलब्ध गराउँदै आएको दाबी गरेका छन् । उनी भन्छन, ‘अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम कानुन र कार्यविधिअनुसार बीमितको उपचारबापतको रकम दिने हो ।’ उनका अनुसार गत साउनयता ८ अर्ब १३ करोड अस्पताललाई उपलब्ध भएको छ । यस्तै जेठ यता ६ अर्ब अस्पताललाई दिन बाँकी रहेको उनको भनाइ छ ।