|  

सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

९ असार, काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

साथै उक्त दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।आज हनुमाननगर कङ्कालिनी नगरपालिका-१ पूर्व-पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नं को यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे प्रहरीले जनाएको छ ।

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उहाँकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।