|  

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

९ असार, काठमाडौं । काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् । बुढानिलकण्ठ नगरपालिका-८ स्थित निर्माणाधिन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका-३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको लमही नगरपालिका-१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको आधिखोला गाउँपालिका-६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका-२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।पर्साको बीरगंज महानगरपालिका-१६ स्थित माइडिया पोखरी नजिकै हाल पहिचान नखुलेका करिब ५५ वर्षीय  पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।