|  

थारु क्लस्टर छुट्याएर निजामति सेवा ऐन पारित गर्न मागः सांसद गौतम

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले टीकापुर घटनामा थारु समुदायका मानिसहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न माग गरेका छन् ।

उनले बिहीबार संसद्को शून्य समयमा बोल्दै मुद्दा फिर्ता गर्न माग गरेका हुन । उनले भने ‘टीकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएकाले सो घटनामा थारु समुदायका साथीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता गरियोस । फरार सूचीमा रहेकाहरूलाई उन्मुक्ति र राजबन्दीलाई अविलम्ब रिहाइ गर्न नेपाल सरकारसँग माग गर्छु ।’

निजामति सेवामा थारु समुदायको उपस्थिति नभएको भन्दै उनीहरूको मौलिक हक हनन भएको समेत सांसद गौतमले बताए  । थारु समुदाय नेपालको चौथो ठूलो जनसंख्या भएको समुदाय भएकाले थारु क्लस्टर छुट्याएर निजामति सेवा ऐन पारित गर्नसमेत उनले माग गरे ।