|  

पेट्रोलियम पदार्थको मूल्य घटाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण 

९ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद समीना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन । उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन ।

नेकपा (एकीकृत समाजवादी) कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन । उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन ।

यसैगरी, नेकपा (एमाले) का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए । उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए ।

नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहसनहस बनाएको आरोप लगाए । उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) कि सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरिन ।

नेकपा (माओवादी केन्द्र) कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताइन । उनले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग गरिन ।

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गरे ।  नेपाली काँग्रेसका सांसद सत्यनारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताए ।