|  

दोस्रो पटक पनि पोखरीभित्रै बेहोस भइन अमेरिकी स्वीमर अनिता

९ असार, काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन ।

बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीय अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ ।

पोखरीबाट बाहिर निकाल्नेवित्तिकै अल्भारेजको होस खुलेको थियो । उनको तत्काल प्राथमिक उपचार गरिएको थियो । हाल उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ । आश्चर्यजनक रुपमा अल्भारेज कुनै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको समयमा पोखरीभित्रै बेहोस भएको यो दोस्रोपल्ट हो ।

यसअघि सन २०२१ मा बार्सिलोनामा सम्पन्न ओलम्पिक छनोट प्रतियोगितामा पनि उनी बेहोस भएकी थिइन । त्यतिबेला पनि पोखरीभित्र छिरेर उनको उद्धार गर्ने उनैै प्रशिक्षक फ्युन्टेस थिइन । २५ वर्षीया अनिता अघिल्लो वर्ष बार्सिलोनामा आयोजित ओलम्पिक छनोटमा पनि यस्तै अवस्थाबाट गुज्रिएकी थिइन् ।