|  

नेकपा एसबाट मन्त्रीमा सिफारिस गरिएका नामहरुप्रति बहालवाला मन्त्रीहरुको आपत्ति

९ असार, काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने नेकपा एकीकृत समाजवादी (नेकपा एस) को स्थायी कमिटी बैठकको निर्णयमा बहालवाला मन्त्रीहरुले आपत्ति जनाएका छन् ।

सिफारिस गरिएका नयाँ मन्त्रीको नामलाई लिएर उनीहरुले आपत्ति जनाएका हुन् । सिफारिस गरिएकाहरु मन्त्री बन्नको लागि उपयुक्त नभएका, कार्यक्षमता र दक्षता नभएकोदेखि संघीय सांसद नभएका व्यक्ति रहेका भन्दै उपयुक्त व्यक्ति सरकारमा नपठाए आफूहरुले पद नछाड्ने बहालवाला मन्त्रीले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन ।

एकीकृत समाजवादीले मेटमणि चौधरी, शेरबहादुर कुँवर, हालका स्वाथ्यराज्यमन्त्री भवानीप्रसाद खापुङ,जीवनराम श्रेष्ठ र हिराबहादुर केसीको नाम नयाँ मन्त्रीका रुपमा अघि सारेको छ । खापुङलाई स्वाथ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बनाउने तयारी रहेको बताइएको छ । पार्टी पंक्तिले अघि सारेको नाममा धेरै विरोध गर्नेहरुमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्री छन ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि आपत्ति जनाएका छन् । उनीहरुले दुबै सदनबाट आगामी आर्थिक बर्षको बजेट पारित भएपछि सशर्त मन्त्रीबाट हट्ने बताएका छन । नयाँ मन्त्रीमा सिफारिस गर्न खोजिएका मध्ये सबै पुरुष छन्। महिला पनि सहभागी गराउनुपर्ने उनीहरुको माग छ ।