|  

घूस काण्डमा मुछिएकालाई कारबाही गर्न राप्रपाको माग

९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घुस काण्डमा मुछिएका न्यायाधीश र कानुन ब्यवसायीलाई कारबाही गर्न माग गरेको छ ।

राप्रपाले आज न्याय परिषदलाई एक पत्र बुझाउँदै घूस काण्डमा मुछिएका न्यायाधीश राजप्रसाद कोइराला र बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं कानुन व्यवसायी रुद्र प्रसाद पोखरेललाई कारबाही गर्न माग गरेको हो । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले न्याय परिषदलाई बुझाएको पत्रमा कोइराला र पोखरेलबीच घूस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएको भन्दै न्याय परिषदलाई पत्र लेखेर उनीहरूलाई कारबाही गर्न राप्रपाले माग गरिएको छ । 

न्यायालयप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिइ कानुनी राज्यको प्रत्याभूति दिलाउन न्यायाधीश कोइरालालाई आइन्दा कुनै पनि न्यायिक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कारबाही गर्नुपर्ने राप्रपाको माग छ ।