|  

नेकपा एसको बैठकः मन्त्री हेरफेरको विषय तत्काल टुङ्ग्याउन नेपाललाई दबाब

९ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाब दिएका छन ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई दबाब दिएका हुन । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा। गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले भोलि हुने पोलिटब्युरो, शनिवार हुने केन्द्रीय कमिटी तथा असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेन्डाका बारेमा छलफल गरेको जानकारी दिए ।

उनले आजको बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको जानकारी दिए । पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्तामा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए । उनले गठबन्धनको औचित्य नसकिएकोले आउँदो चुनावमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएको समेत बताए ।