|  

एसीसी महिला टी-२०ः नेपालले आज बलियो टोली यूएईको सामना गर्दै 

१० असार, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ ।

मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुवै टोली एसिया कपमा छनोट हुनेछन् ।