|  

मिटर ब्याजमा ऋण दिने २ जना पक्राउ

१० असार, काठमाडौं । पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाका मिटर ब्याजपीडितहरु काठमाडौंमा गएर मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीले प्रतापपुरका दुई जना मिटर ब्याजी साहुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका बेलाटारीका ४५ वर्षीय सुनिल बानियाँ र ५० वर्षीय जगदीश बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

बिहीबार साँझ उनीहरुकै गाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका २ जना साहुले केही दिन अगाडि परासीमा पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारलाई राजस्व तिरेर मालपोत कार्यालयबाट दुष्टि बन्धक गरेर सरकारी दरमा नै ऋण दिएको दाबी गरेका थिए ।

उनीहरुले वर्षौंदेखि ब्याज पनि नदिएको र अहिले ऋणी आफै आन्दोलनमा उत्रीएको आरोप लगाएका थिए । जिल्लामा मिटर ब्याज लगाउनेको संख्या निकै धेरै भए पनि पीडितहरु खुलेर नआउँदा पहिचानमा समस्या पर्दै आएको छ ।