|  

ताइवानद्वारा अफगान भूकम्प पीडितलाई १० लाख डलर सहयोगको घोषणा

१० असार, काठमाडौं । ताइवानले अफगानिस्तानका भूकम्प पीडितका लागि १० लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।

संयुक्त राष्ट्र संघ र अन्य मानवीय सहायता एजेन्सीहरुले अफगानिस्तानलाई मद्दत गर्न आह्वान गरेका थिए ।  प्रजातान्त्रिक रूपमा शासित टापुलाई आफ्नो क्षेत्रको हिस्सा मान्ने चीनको दबाबका कारण ताइवान संयुक्त राष्ट्र संघको सदस्य हुन सकेको छैन । तर उसले आफूलाई अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्य भएको देखाउँदै आएको छ ।ताइवान पनि भूकम्पको जोखिम भएको क्षेत्रमा अवस्थित टापु हो । यसले नियमित रूपमा विश्वभरका अन्य प्रकोप क्षेत्रहरूमा उद्धार टोलीहरू पठाउँदै आएको छ ।

यता, चीनले पनि अफगानिस्तानलाई सहयोग गर्न तयार रहेको बताएको छ । तर विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । आफगानिस्तानका दुर्गम प्रान्तमा आएको भूकम्पका कारण एक हजार बढी मानिसको ज्यान गएको छ । सयौं घाइते भएका छन भने सयौं घर र भवन भत्केर ठूलो भौतिक क्षति भएको छ ।