|  

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे पूर्णपाठ सार्वजनिक

१५ असार, काठमाडाैं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे फैसलाको पूर्णपाठ बुधबार आएको छ ।

विमानस्थल निर्माणमा सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्नेगरी सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरू उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

फैसला गर्दै वातावरणीय र जैविक विविधतामा कम क्षति हुनेगरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो । तर, बुधबार पूर्णपाठ अाउँदा पाँच जनाको पूर्ण इजलासमध्ये हरिकृष्ण कार्की र मनोज शर्माले ४० बुँदामा फरक मत राखेका छन् ।

उनीहरूले विमानस्थल निर्माणसँग सम्बन्धित सम्पूर्ण काम–कारबाही बदर मात्र गरी शून्यको स्थितिमा छाडिदिँदा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको भविष्य नै अनिश्चित हुने र राज्यको ठूलो लगानी खेर जाने राय दिएका छन् ।