|  

विपद् व्यवस्थापनमा तयारी अवस्थामा बसाैंः गृहमन्त्री खाँण

१५ असार, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रभावितलाई खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि कुनै कसुर बाँकी नराख्ने भन्दै त्यसको तयारी अवस्थामा रहन मातहतलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने भन्दै सबैप्रकारको तयारीमा रहन निर्देशन दिएका हुन् ।


उनले सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने भएकाले अवरुद्ध सडक तत्काल सञ्चालन गर्नेगरी उपकरणलाई तयारी अवस्थामा राख्न, एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने उल्लेख गरे । उनले जटिलखालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको धारणा राखे ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत रूपले परिचालन हुनुपर्नेमा जोड दिए ।