|  

बेरुजु बढ्दै गएकाले त्यसमा सुधार गर्नुपर्नेमा जोडःराष्ट्रपति

१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु बढ्दै गएकाले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएकी छन् ।

बुधबार आयोजित महालेखा परीक्षकको कार्यालयले ६४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बेरुजु फस्र्योटमा सुधारको खाँचो रहेको औल्याएकी हुन् ।राष्ट्रपति भण्डारीले महालेखा परीक्षकले गर्ने लेखापरीक्षणले मुलुकको सार्वजनिक प्रशासनको वित्तीय अनुशासन र सदाचार प्रस्ट पार्ने बताइन । उनले आधुनिक प्रविधिमार्फत लेखापरीक्षण हुन थालेकोमा खुसीसमेत व्यक्त गरिन ।

यसैवीच, अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फस्र्योटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जिरिक गरे । उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फस्र्योटलाई प्राथमिकतामा राखिएको छ । सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’

अर्थमन्त्री शर्माले लेखापरीक्षकहरूबाट प्राप्त सुझाव कार्यान्वयन गर्न तथा बेरुजु फस्र्योट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । बेरुजु फस्र्योटका लागि अहिलेसम्म अपनाएका विधि र प्रक्रियाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उनले बताए ।