|  

शेखर कोइराला समूहको बैठक आज बस्दै

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज दिउँसो बस्ने भएको छ ।

आज दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक र बाह्य विषयमा पनि छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिए । पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ । पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।
पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्न पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ । देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।

१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन्। सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । यसैगरी, पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा हाल ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय रहने संसदीय बोर्डमा पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र छन् । यस्तै, कांग्रेस विधानमा २८ वटा विभागको व्यवस्था छ।

देउवाले गत ३ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिबाट १० भ्रातृसंगठन पनि भंग गरेका थिए। तीमध्ये ४ वटामा नयाँ नेतृत्व आइसकेको छ। फागुन मसान्तभित्र १० वटै भ्रातृसंस्थानको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार पाएका देउवाले पाँच महिनामा नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघलाई मात्र नेतृत्व दिएका छन्। त्यसमा पनि देउवाले एकलौटी गरेको यो समूहको आरोप छ।

देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए।  कोइराला सचिवालयले देउवाले आफूले अबदेखि शेखर समूहसँग सल्लाह लिने बताए पनि त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ । केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए । त्यसमा उनले शेखर समूहसँग कुनै छलफल गरेका थिएनन् ।