|  

दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमार्फत खोल्ने १७ प्रतिशत लिंक नखुल्ने

१६ असार, काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमार्फत खोल्ने १७ प्रतिशत लिंक नखुल्ने गरेको पाइएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको दूरसञ्चार सेवा प्रदायकको सेवाको गुणस्तर अध्ययन तथा मापन प्रतिवेदनले औसतमा १७.२७ प्रतिशत ब्राउजिङ असफल हुने र खुलेपनि औसत १८.८ सेकेन्ड लाग्ने देखाएको छ । प्राधिकरणले गत पुसदेखि चैतसम्म परामर्शदाता लगाएर सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर मापन गरेको थियो । परामर्शदाताबाट प्राप्त प्रतिवेदनअनुसार औसतमा ब्राउजिङ सफल दर ८२.७३ प्रतिशत मात्रै रहेको छ ।

प्रतिवेदनका आधारमा हेर्ने हो भने दूरसञ्चार सेवा प्रदायक हरेक हिसाबले ग्राहकलाई गुणस्तरीय सेवा दिनबाट चुकेका छन् । टेलिफोन र मेसेजमा चुकेका कम्पनीहरू इन्टरनेट ब्राउजिङमा पनि चुकेको पाइएको छ । यो अध्ययन प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा भएको थियो । तीन प्रदेशलाई एकै ठाउँमा ल्याएर औसतमा हर्ने हो भने ८२.७३ प्रतिशतमात्रै लिंक खुल्ने देखिएको छ । भने, लिंक खुल्नका लागि औसत १८.८ सेकेन्ड लाग्ने गरेको छ ।

सेवा प्रदायकको आधारमा हेर्ने हो भने सबैभन्दा कमजोर स्मार्टसेल देखिएको छ । तीन प्रदेशमा भएको अध्ययन अनुसार स्मार्टसेलको नेटवर्कबाट लिंक खुल्न औसतमा २६।९७ सेकेन्ड र ५०।२४ प्रतिशतमात्रै लिंक खुल्ने देखिन्छ ।

त्यस्तै नेपाल टेलिकमको नेटवर्कबाट औसतमा ९९.४० प्रतिशत लिंक खुल्दा खुल्न लाग्ने औसत समय ९.४२ सेकेन्ड रहेको छ । एनसेलको नेटवर्कबाट औसतमा ९७.५५ प्रतिशत लिंक खुल्दा खुल्न लाग्ने औसत समय २०.०१ सेकेन्ड रहेको प्रतिवेदनले देखाएको छ ।