|  

रुससँग लड्न मासिक ५ अर्ब डलर आवश्यक पर्ने युक्रेनी राष्ट्रपतिको भनाइ

१६ असार, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताएका छन् ।

स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराए ।
जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आगामी दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिएका छन् । उनले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेका थिए ।