|  

भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति 

२० श्रावण, काठमाडौं । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ । दशैँ, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ । तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात भएको थियो । तर, जेठदेखि आयात ठप्प छ । रुस र युक्रेनबीच युद्ध बढेसँगै संसारभर खाद्य संकट सुरु हुने चर्चाबीच भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीहरुबाट प्रस्ताव माग गरेको प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार नेपालीका महत्वपूर्ण चाडबाड नजिकिँदै गएको र यो बेला कुनै पनि वस्तुको अभाव नहोस् भनेर आयात खुलाउन लागिएको हो । स्वदेशी चिनी उद्योगको उत्पादन अपुग हुने भएकाले चिनीको आायात खुलाउन लागिएको हो भने केही महिनादेखि गहुँ आयात हुन नसकेका कारण स्वदेशी उद्योगसमेत समस्यामा पर्न थालिसकेका छन ।

मन्त्रालयले आयातकर्तासँग प्रारम्भिक चरणको आशयपत्र माग गरेको छ । जसमा कम्पनीको नाम, भारतबाट खरीद गर्ने उद्योगको विवरण, आयात गर्नुको उद्देश्य, कुन नाकाबाट ल्याउने हो सो को विवरण लगायत उल्लेख गर्नुपर्नेछ । यस्तै, कति परिमाणमा ल्याउने हो, यसको मूल्य तथा कुन मितिसम्म ल्याइसक्ने लगायतका विषयहरु समावेश गरी मन्त्रालयमा निवेदन दिनुपर्ने प्रवक्ता रेग्मीले जानकारी दिए । उनका अनुसार उद्योग व्यवसाय दर्ता गरेका, कर चुक्ता प्रमाणपत्र लिएका, आयात तथा निर्यात गर्न इजाजतपत्र लिएका, प्रचलित कानुनबमोजिम क्वारेन्टाइन लगायतका इजाजतपत्र लिएका व्यवसायीसँग सरकारले गहुँ र चिनी आयात गर्न आशयपत्र मागेको छ ।

पछिल्लो दुई महिना गहुँ आयात नहुँदा देशभित्रका मैदा उद्योगहरू मारमा परेको र त्यसको प्रभाव चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिन लगायतको उत्पादनमा परेको बताइएको छ । मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ । प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ भने साना घरेलु मिलले खपत गर्ने गहुँको परिमाणबारे एकीन तथ्यांक छैन ।

नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयपछि नेपालमा गहुँ उत्पादनको सिजन सुरु भएकाले तत्काल समस्या नदेखिए पनि पछिल्लो दिनमा भने स्वदेशी उत्पादनले अपुग भएको र आयात समेत नहुँदा बजारमा अभाव सुरु हुन थालिसकेको बताए ।