|  

नेपालका सिनेमा हलमा चार फिल्म प्रदर्शनमा

२० श्रावण, काठमाडौं । आज नेपालका सिनेमा हलमा चार फिल्म प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘म’ र ‘चपली हाइट’सँगै दुई विदेशी फिल्मल आजदेखि हलमा लागेका हुन । सूवर्ण थापाको निर्देशनमा बनेको ‘म’मा थ्रिलर कथालाई प्रस्तुत गरिएको छ। अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक क्रियाकलाप र त्यसको रहस्यमा यो फिल्मको कथा आधारित छ। फिल्ममा सञ्जोग रसाईली र पुनम श्रेष्ठले डेब्यु गरेका छन भने निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठलगायतक कलाकारको अभिनय रहेको छ । प्रकाश पुरीको कथामा आधारित रहेको यो फिल्म ‘कान्तिपुर फिल्म एकेडेमी’को प्रस्तुति हो ।

त्यस्तै, निकेश खड्काको निर्देशनमा बनेको फिल्म ‘चपली हाइट ३’पनि आजदेखि हलमा रिलिज भएको छ । यो फिल्म तेस्रो पटक हलमा रिलिज भएको हो । थ्रिलर विधामा रहेको यो फिल्म यसअघि पनि पुस ३० गते प्रदर्शनमा आएको थियो । तर, त्यसपछि सरकारले कोरोना महामारी नियन्त्रणको लागि गरेको प्रतिबन्धनको मारमा परेको फिल्म पुनः प्रदर्शनमा आएको थियो। हाल त्यो बेला फिल्म हेर्न नपाएका दर्शकका लागि भन्दै फिल्म प्रदर्शन गरिएको फिल्मका निर्माता अर्जुन कुमारले बताएका छन ।

यो फिल्म चर्चित फिल्म ‘चपली हाइट’ फिल्म श्रृङ्खलाकै निरन्तरता हो । फिल्ममा स्वस्तिमा खड्का, अनुप बराल, आमिर गौतम, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ ।

त्यस्तै, रवि तेजाको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘रामा राओ अन ड्युटी’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सरथ मन्डेभाको निर्देशन, कथा, पटकथा तथा संवादमा आधारित यो फिल्म दक्षिण भारतीय फिल्म हो । फिल्मको हिन्दी डब भर्जन नेपालमा प्रदर्शनमा आएको छ। फिल्ममा रवि तेजासँगै दिव्यशा कौशिक, रजिशा भिजयनलगायतका कलाकारको अभिनय रहेको छ ।

आजदेखि नै हलमा लागेको फिल्म ‘बुलेट ट्रेन’ भने हलिउड फिल्म हो । ब्राड पिटको मुख्य अभिनय रहेको यो फिल्मलाई डेभिट लिट्चले निर्देशन गरेका छन् भने यसमा पटकथा ज्याक ओल्केविचको रहेको छ। फिल्म ‘कोटारो इशाका’माथि आधारित रहेर बनाइएको हो ।

यी बाहेक हाल हलमा गत साता रिलिज भएका केही फिल्म पनि प्रदर्शन भइरहेका छन । नेपाली फिल्म ‘पानीफोटो’सँगै ‘एक भिलेन रिटन्र्स’, ‘थोरः लभ एण्ड थन्डर’ तथा ‘भिक्रान्त रोना’ हलमा प्रदर्शन भइरहेका छन ।