|  

मापसे गरी सवारी चलाउने १ हजार भन्दा बढी चालक कारबाहीमा

२० श्रावण, काठमाडौं । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ हजार भन्दा बढीलाई कारबाही गरिएको छ ।

पछिल्लो एक सातामा मात्र काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो एक सातामा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी चलाएको अवस्थामा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन ।

मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने सवारी चालकसम्म रहेका छन । शुक्रबार र शनिबारको दिन सबैभन्दा बढी मापसे गरी सवारी चलाउने भेटिने गरेको कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २३४, १४ गते १९८, १५ गते ११८, १६ गते ११५, १७ गते १४२, १८ गते १४७ र १९ गते १५४ जना सवारी चालक मापसे गरी सवारी साधन चालएको अवस्थामा भेटिएका थिए ।