|  

पोर्चुगिज मिडफिल्डर पिएसजीमा अनुबन्धित

२० श्रावण, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेजलाई क्लबमा अनुबन्ध गरेका छन ।

पिएसजीले सान्चेजलाई अर्को लिव वान क्लब लिलबाट १५ मिलियन युरोमा ५ वर्षको लागि अनुबन्ध गरेको हो । लिलमा उनको सम्झौता सन २०२३ सम्म भएपनि उनले पिएसजी रोजेको हो । सान्चेज अनुबन्धमा पिएसजीले सिरी ए च्याम्पियन एसी मिलानलाइए पछि पारेको हो । उनी अब भिटिन्हा, मार्को भेराट्टी र ड्यानिलो परेरासँग खेल्नेछ ।

प्रशिक्षक क्रिस्टोफ गाल्टिएरसँग उनको यो दोस्रो स्पेल हुनेछ । यसअघि रेनाटोले गाल्टिएरसँग लिलमा खेलेका थिए । गाल्टिएर यसै सिजनमा पिएसजीको प्रशिक्षक बनेका हुन । पोर्चुगिज क्लब बेन्फिकाबाट युवा स्टार खेलाडीको रुपमा चर्चामा आएका २४ वर्षीय सान्चेज सन २०१६ मा ३५ मिलियन युरोमा जर्मन महारथी बायर्न म्युनिखमा पुगेका थिए । तर, सान्चेज बायर्नमा जम्न सकेनन ।

४ सिजन बायर्नमा रहेका उनले ५३ खेल खेल्दा दुई गोल गरेका छन । बायर्नमै रहँदा उनले एक सिजन लोनमा स्पान्सी सिटीका लागि खेलेका थिए । त्यसपछि सान्चेज २०१९-२० को सिजनमा लिलमा पुगेका थिए । लिलमा तीन सिजन बिताउँदा उनले ९१ खेलमा ७ गोल गरेका छन ।

लिलमा राम्रो प्रभाव जमाएपनि उनी पिएसजीको नजरमा परेका हुन । २०१६ देखि पोर्चुगलको टोलीमा रहेका उनले ३२ क्याप जित्दै ३ अन्तर्राष्ट्रिय गोल गरेका छन ।