२० साउन, काठमाडाैं ।
नेपालमा अभिनेता राजेश हमाललाई लिएर धेरै मिमहरू बन्ने गर्छन् । उनी स्वयम् पनि सार्वजनिक कार्यक्रमहरूमा मिममा मज्जाले हाँस्छन् र आफैँलाई 'जोक' बनाउँदै व्यंग्य गरिरहेका हुन्छन् ।
हालै उनले ठट्यौली शैली आफ्ने अझै बुवा हुने बेला नभएको बताएका छन् ।
एउटा चलचित्रमा विपिन कार्कीको बुवाको भूमिका अस्वीकार गरेको समाचार बाहिरिएपछि उनले त्यसबारे व्यंग्यात्मक जवाफ दिएका हुन् ।
उनले आफू बा–आमाको बाबु हुने तर छोराछोरीको नहुने बताए ।
“बाबु त हुन्छु, तर म बा–आमाको । छोराछोरीको बाबु चाहिँ हुँदिन,” उनी हाँस्दै थप्छन्, “यो बाबु हुने उमेर हो मेरो ? हेर्नुस न, मलाई तलबाट माथिसम्म हेर्नुस् त यो बाबु हुने उमेर हो ?”
राजेशले बाबुको भूमिका अस्वीकार गरेको भनेर आएको समाचारबारे बोलेनन् । तर, भूमिका राम्रो र सशक्त भएर प्रमुख पात्र दिए कुनै पनि कलाकारले गर्ने बताए ।
अभिनेता हमालले यी कुरा बुधबार ‘मेरो डान्स कप’ सिजन ४ को कार्यक्रममा अतिथि बनेर पुगेका बेला पत्रकारहरूसँगको कुराकानीमा बताएका हुन् ।