|  

म्यानको प्रबन्धसमितिमा सरकारको तर्फबाट विश्वमोहन मनोनीत

श्रावण २१, काठमाण्डौ- नेपाल व्यवस्थापनको विनियमबमोजिम संस्थाको प्रबन्धसमितिमा सरक्कारको प्रतिनिधिको रूपमा विश्वमोहन अधिकारी नियुक्त भएका छन् ।

युवा तथा सानाव्यवसायी स्वरोजगारकोषका कार्यकारीनिर्देशकसमेत रहेका अधिकारीलाई असार २४ गते नै मन्त्रीपरिषद्को बैठकले दुईवर्षे कार्यकालकालागि प्रतिनिधिको रूपमा मनोनयन गरेको हो । अर्थविद्को रूपमा चिनिएका अधिकारी पूर्वबैङ्करसमेत हुन् । 

तत्कालीन ओम् विकास बैङ्कका प्रमुखकार्यकारीअधिकृत रहेका उनले त्यसबेला देशभरमा सबैभन्दा धेरै निक्षेप सङ्कलन गर्ने बैङ्कको रूपमा परिचित गराएका थिए ।

नेपाल व्यवस्थापन सङ्को विधान अनुसार प्रबन्धसमितिमा १९ जना रहने व्यवस्था गरेको छ । जसमध्ये १७ जना निर्वाचित भएर आउँछन् । बाँकी २ जनामध्ये निवर्तमान सभापति पदेन-सदस्य र एकजना सरकारको प्रतिनिधिको रूपमा सरकारले नियुक्त गर्दछ । सोही व्यवस्था अनुसार उनलाई सरकारीप्रतिनिधिको रूपमा प्रबन्धसमितिको सदस्यमा नियुक्त गरिएको हो ।

अधिकारीसँग बैङ्किङ्गक्षेत्रमा झण्डै २४ वर्षको अनुभव छ । यो अवधिमा उनले अन्नपूर्ण फाइनान्स, सिटी विकास बैङ्क, कैलाश विकास बैङ्क र ओम् विकास बैङ्कमा रहेर काम गरेका छन् ।  

तत्कालीन ओम् विकास बैङ्कको प्रमुखकार्यकारीअधिकृत रहेकाबेला एनएमबि बैङ्कसँग मर्ज भएको थियो । यद्यपि उनी बैङ्कलाई मर्जर गराएर बाहिरिएका थिए ।

उनमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसहरूमा २१ वर्षसम्म प्राध्यापन गरेको अनुभवसमेत छ ।