|  

फुटपाथ व्यवसाय रहर कि बाध्यता ! महानगरको लापरबाही कहिलेसम्म ? 

२३ श्रावण, काठमाडौं ।

बेली गिरी

ठूला-ठूला सपनाहरुको साथमा ग्रामीण (आफ्नो जन्मथलो) छाडि कतिपय मानिसहरु शहरमा केही गरी खान्छु भनेर आउने गर्दछन् ।जसमध्ये नेपालका साना-ठूला शहरहरु पर्दछ ।त्यसमा पनि नेपालको राजधानी काठमाडौं प्रमुख हो ।निकै ठूलो आशा बोकेर दैनिक करिब हजारौंको संख्यामा आम मानिसहरु शहर पस्ने गर्दछन् ।

यसमा पनि कसैको रहर हो भनि कसैको बाध्यता ।देशका विभिन्न जिल्लाबाट शहरमा आएर राम्रो स्कुल पढ्ने, केही बन्ने, आफ्नो नाम कमाउने आशा बोकेर आएका युवा तथा आम मानिसहरु तब मात्र यहाँको माहोल बुझ्ने छन् । जब उनीहरु सडकमा फालिएका फोहोर उठाउन बाध्य हुने छन् ।जति पनि मनमा बोकेर आएको सपनाहरु हुन्छन् त्यसलाई त्यही छाड्न बाध्य हुन्छन् । शहरमा काम पाउन निकै नै मुश्किल हुने गर्दछ ।

यसमा पनि जागिर खानको लागि आफ्नो योग्यता भन्दा पनि आफ्नो मान्छे हुन आवश्यक रहेको छ । किनभने शहरमा मात्र नभइ गाउँमा समेत आजभोलि जागिर खानको लागि आफ्नो शैक्षिक योग्यता भन्दा पनि आफ्नो मान्छे त्यस क्षेत्रमा छ भने योग्यता बिना नै जागिर पाइने गर्दछ । जसका कारण गाउँदेखि शहर पसेकाहरुको खासमा कसैसँग चिनजान हुँदैन ।त्यसैले गर्दा पनि जागिर पाउन निकै मुश्किल हुने गर्दछ । जसका कारण हरेक मानिसहरु  सडकका जुनसुकै पेटीमा पनि आफ्नो दैनिक गुर्जानको लागि पसल थापेर बस्न बाध्य छन् ।

जसमध्ये एक प्रमुख स्थल हो काठमाडौंको नयाँ बानेश्वर । यहाँ प्रायजसो साँझ ५ बजेदेखि सडकको पेटीमा पसल राख्न सुरु गरिन्छ । र बेलुका करिब ९ बजेदेखि १० बजेसम्म पसलहरु देख्न सकिन्छ । उक्त स्थानमा जुनसुकै समयमा पनि पसलहरु देख्न सकिन्छ । चाँहे, घाम होस या पानी, जाडो होस गर्मी । किनभने उनीहरुको जिविकोपार्जन गर्ने महत्वपूर्ण पेशा नै त्यही हो । दिनको तीन पटकसम्म सडक पेटीमा सामान बेच्न आइपुग्ने गर्दछन् । बिडम्बना यो छ कि उनीहरुले दैनिक ६००-१००० रुपैयाँ मात्र कमाउने गर्दछन् । यो भन्दा धेरै भयो भने दिनमा २ हजार सम्म ।

चिसो भुइँमा लटपटिंदै भए पनि दैनिक गुजारा र छोराछोरीको पढाइ खर्च, आमा बुबाको स्वास्थ्य उपचारका लागि भएपनि उक्त काम नगरी सुखै छैन ।तर,उनीहरुलाई कतिबेला नगर प्रहरी आउने हो र सामान उठाएर लैजाने हो भन्ने डरले घेरिरहेको हुन्छ । व्यापरीहरु एकले अर्कोलाई भन्दै हरबखत सजग र चनाखो भएर बस्ने गर्दछन् ।यति हुँदा हुँदै पनि कहिलेकाहीं नगर प्रहरीले छापामार शैलीमा सामान उठाएर लैजाने गर्दछ ।बिचरा !उक्त काम गर्नका लागि मजबुर रहेको व्यापारीहरु कुन बेला नगर प्रहरी आउने होर उठाउने हो भन्ने डरमै काम गर्न बाध्य छन् ।

हरेक व्यापरीहरुको गुनासो छ देख्ने बित्तिकै झम्टिहाल्छन्, हामी कहाँ जाने हाम्रो खाने बाटो यहिँ हो नगरले हाम्रो दुख्न कहिले बुझेन, जहिले हामीलाई दोष मात्र दियो, हामी पनि रहरले नभइ बाध्यताले बसेका हौं । नत्र हामीलाई पनि कति बेला नगर आउँछ, उठाउँछ भन्ने मनमा डर, त्रास हुँदा हुँदै पनि हामी जबरजस्ती बस्ने थियौ र !सरकारले ‘गैरकानुनी’ भनेको यो व्यापार नगर्ने हो भने उनीहरूको घरमा चुलो बल्ने अवस्था छैन ।

ठेलागाडा र फुटपाथमा व्यापार गर्नेहरूमाथि दैनिकजसो नगर प्रहरी लगाएर हस्तक्षेप गरिरहने महानगरपालिकाले अहिलेसम्म उक्त फुटपाथलाई व्यवस्थित गर्ने योजना ल्याएको छैन भनौं या बास्ता गर्दैन । यसैबीच विगत केही हप्ता देखि नयाँ बानेश्वरमा  महानगरले पसल राख्न दिएको छैन । जसका कारण उक्त पसलबाट भएको कमाइबाट नै जिविको पार्जन गर्दै आएका व्यापारीहरु अपठ्यारोमा परेका छन् । उनीहरुलाई खान मुश्किल भएको छ ।

तीमध्ये नयाँ बानेश्वर कपडा व्यापार गर्ने एक पुरुष महानगरले विस्थापित गरेसँगै सडकबाट पुलमा आइपुगेका छन् । उनी भन्छन्, महानगरले विस्थापित गरेसँगै यता सरेको छु जसरी पनि काम त गर्नै पर्यो । तर, यहाँ पनि महानगर आएर लेखेट्ने त हैन! भन्ने त्रास मनमा अझै छ । उनलाई हामीले सोधेका थियौ । के तपाईँहरुलाई महानगरले विस्थापित गरेसँगै अर्को कुनै मार्ग दिएको छ त ? उनले भने यता नजिकै एक ठाउँ छ भन्ने सुन्या छु तर, उक्त स्थानमा पसल राख्नको लागि भाडा तिर्नुपर्छ । जब हाम्रो दैनिक कमाई १ हजार सम्म पुग्न गाह्रो हुन्छ भने हामीले भाडा कसरी तिर्ने ।

अनि आफ्नो बच्चालाई कसरी पाल्ने । यति मात्र नभइ उनले अहिलेको महानगरको व्यवहार राणाशासनको भन्दा कडा भएको टिप्पणी गरे। उनले भने,‘मेयर चुनिएका बालेन्द्र साहको चुनावी प्रचारमा आफ्नो छोरा पनि हिड्यो तर,अहिले त बेकार हिंडिएछ भन्दैछ, गरिबको नाम लिएर चुनाव जितेकाहरूले कहिल्यै हामीलाई न्याय दिन सकेनन् ।’ हाम्रो देशको सिस्टम यति धरै कमजोर छ कि जस्ले नजिकका कुरालाई अन्देखा गर्ने गर्दछ ।

यदि त्यही कुरा सामाजिक सञ्जालमा आउने हो भने राजनीतिक दलका नेताहरुको कस्ले पहिला सहयोग गर्ने र आफ्नो नाम कमाउने भन्नेमा होडबाजी चल्ने गर्दछ  । तर, त्यही कुरालाई आफ्नै आँखाले देख्दा नदेखेको जस्तो गर्न गर्दछ । के आम पीडित व्यक्तिहरुले न्याय पाउनको लागि सामाजिक सञ्जालकै साहरा लिनु पर्ने हो ? राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जाल बाहेक अन्य कुरामा ध्यान दिने गर्दैनन् ? सडकपेटीमा जतिखेर पनि व्यापार भइरहेको हुन्छ किनभने यहाँ सडकमै किन्नेहरू धेरै छन् ।

अनि के त्यसमा व्यापारीको गलत हो? यदि व्यापारीहरु सडक पेटीमा पसल गरेर बस्ने र सामान लिन कोही नउाने हो भने चाहिँ उनीहरुलाई हो यस्ले ठाउँ ओगट्यो यहाँ मान्छे नै आउन्न भन्न सकिन्थ्यो । तर, यस्तो छैन । उक्त पसलहरुमा सामान लिनेहरुको भीडभाड लाग्ने गर्दछ ।आफ्नो वर्गको लागि चाहिने मूल्यका सामान सडकमै पाइन्छ । यो बेच्नेको मात्रै विषय हैन । अनि किन व्यापारीलाई मात्र यस्तो ? अहिले सडकमा आएकाहरू कहाँको हुन्, किन सडकमा आए, यिनीहरूलाई लखेट्दा कहाँ जान्छन्, महानगरले कहिले यस विषयमा सोच्छ ?

के फुटपाथ खाली गराउने नाममा सडकमा आएकाहरूलाई विना व्यवस्थापन लखेटेर समस्या समाधान हुन्छ ? के सरकारले आफ्नो जिम्मेवारी पूरा नगरी फुटपाथबाट साना व्यवसायीलाई खेद्नु उचित हो ? मानिसहरुमा यो छाप बसिसकेको छ कि सबै सुविधा र अधिकार काठमाडौंमा छ ।त्यही सुविधाले मान्छे काठमाडौं आउँछन् र आउन बाध्य छन् । अवसरको खोजीमा आएका र अनेक हण्डर ठक्कर खाएकाहरू दैनिक गुजारा टार्न क्रेता या बिक्रेताहरू दुबै रूपमा सडकमै निर्भर हुन पुग्छन् । यसमा उनीहरुको के दोष ।