|  

नर्भिक अस्पतालले लिजमा लिएको जग्गाको भाडा बार्षिक ३७ हजार मात्रै ! (भिडियोसहित)

२५ श्रावण, काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आफुहरुले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको दावी गरेका छन ।

उनले मंगलबार पत्रकारहरूसँग यस्ताे दाबी गरेका हुन्। तर अस्पतालले लिजमा लिएको १ रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको काठमाडौं महानगरले बताउदै आएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन समेत दिएका थिए ।

सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न मंगलबार अस्पताल पुगेका महानगरका मेयर शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने पनि बताएका छन । मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष  सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको दाबी गरे । त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने भन्दै फर्किएको बताइएको छ ।