|  

१३ वर्षीया बलात्कार गरेर घटना लुकाउन ७ लाखमा मिलापत्र 

२९ श्रावण, काठमाडौं । जुम्लामा १३ वर्षीया बलात्कार गरेर उक्त घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ ।

उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ । जुम्लाको चन्दननाथ नरपालिका–७ निवासी प्रेमराजा भनिने प्रेमजंग महतले आफ्नै घरमा धर्मपुत्री राखेका बालिकालाई बलात्कार गरेका थिए । उक्त घटना मिलाउन बालिकाकी आमालाई ७ लाख रुपैयाँ दिएको खुलेको हो ।

उनीहरूबीच मिलापत्रसमेत गरिएको खुलेको छ । आरोपित महतले बालिकालाई धर्मपुत्रीका रूपमा घरमा काम गर्न राखेको स्थानीयले बताएका छन् । हाल उक्त घटना बाहिर आएको र त्यो उक्त विषयमा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले  जनाएको छ ।

स्थानीय प्रहरी, अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी महिलालगायतको रोहवरमा मिलापत्र गरेको खुलेको हो । मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ-४ का नवराज भारती, तातोपानी गापा-८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ-७ का महेन्द्रबहादुर महतले हस्ताक्षर गरेका छन् ।