|  

नेदरल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

३० श्रावण, काठमाडौं । नेदरल्यान्ड पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङ बाह्रपोखरी गाउँपालिका-५ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेका छन् । प्रहरीले उनलाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । राईले नेदरल्यान्ड पठाइदिने भन्दै १६ जना पीडितहरूसँग एक करोड ३६ लाख ५० हजार ठगी गरेको आरोप छ ।

उनले वर्किङ भिसामा नेदरल्यान्ड पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १६ लाख लाग्ने बताएका थिए । राईले नेदरल्यान्डमा मासिक ७५ हजार रुपैयाँ तलब हुने भनेर पीडितहरूलाई विश्वासमा लिएर ठगी गरेका थिए । राईले सो रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएको प्रहरी उपरीक्षक कोइरालाले बताए।