|  

भारतमाथि फिफाको प्रतिबन्ध, यू-१७ महिला विश्वकपलाई असर

३१ श्रावण, काठमाडौं । भारतीय फुटबलमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ ।

यसअघि दिइएको आफ्नो चेतावनी नमानेपछि फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको हो । फिफाले यसअघि अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई पटकपटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर, फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाले अदालतको आदेश हटे निलम्बन फुकुवा गर्नेछ । फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न नपाउने भएको छ । यसको प्रत्यक्ष असर यू-१७ महिला विश्वकपलाई पर्ने देखिएको छ ।

यू-१७ महिला विश्वकप आगामी अक्टोबर ११ देखि ३० सम्म भारतमा हुने तालिका छ । प्रतिबन्धसँगै अब यो विश्वकप पनि भारतबाटै अन्य देशमा सार्ने तयारी भएको छ ।