|  

बैतडीमा बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’ दिइँदै

१ भदौ, काठमाडौं । बैतडीमा ५ देखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै त्यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ । यसका लागि ५ सय ६८ खोप कार्यकर्ता र १ हजार १ सय ३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ ।

त्यहाँका सात स्थानीय तहमा यही भदौ ८ सम्म र बाँकी तीन पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ । जिल्लाको मेलौली नगरपालिकासहित सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ । जिल्लामा उक्त उमेर समूहका ३८ हजार पाँच बालबालिका रहेका र उनीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो ।

जिल्लाभरि ५ सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ । जिल्लामा हालसम्म १ लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन भने ९७ हजार छ सय १९ जनाले ‘बुस्टर डोज’ लगाएका छन । कोरोनाकै कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।

बैतडीमा हालसम्म १ लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन भने ९७ हजार छ सय १९ ले ‘बुस्टर डोज’ लगाएका छन । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म ३ हजार ४ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।